bash — poetry_archive.sh [–] [口] [×]
bishab@domain:~/poetry$ ping...

Poetry Archive

संसारको रित
सधैँ मन्दिरको ढोकामा उभिने ऊ, आज किन घाटमा बसि रमिता हेर्दै छ? हिजो मूर्ति मुनिको सिक्का उठाउने ऊ, आज किन बाटोका टिला सोहोर्दै छ? सांसारिक यस लोकको एक चरित्र ऊ, आज किन नैतिकताको परीबन्ध तोडेको छ? अरूको पटकथाको पृष्ठभूमिमा नाच्ने ऊ, आज किन नेपथ्य छाडी मुख्य पात्र भएको छ? सधैँ भाग्यको व्यवहारमा ढल्ने बालक, आज किन आफ्नो नियति बदल्न तम्सिएको छ? कर्तव्य उसको पनि नहोला भन्न सकिन्न यहाँ, किनकि संसारको रितमा आज ऊ पुरै डुबेको छ।
ढिपी
अनिदो छु म केही दिनदेखि निद्राबोकेको भारी आंखीभौं साथ, किनकी आज पनि मेरो सपनामा आउँछौ तिमी त्यही रुपमा हरेक रात, तिम्रो त्यो नसालु नयन र गुलबि अधर साथै तिम्रो तातो सास मिसिएको स्वर, अनि सँगै बसेर हेरेको त्यो पुर्णिमाको चम्किलो जून र गनेका अनगिन्ती ताराहरु, तर जब सन्ध्या आउँछ ती जुनताराहरु जस्तै तिमी पनि बिलाउँछौ अचानक नबोली, र झसङ्ग भइ सम्झन्छु त्यो रात जब मैले पनि तिमीसंगै स्वर्गमा रहने ढिपी गरि हारेको।
भुलेको ठेगाना
जीउँदै छु म आज यहाँ कुनै आशा बिना, जुड्दै छन् यहाँ सम्बन्ध आज कुनै अस्तित्व बिना, मूल्य हारेको छ सुन आज दुनियाँ पाउदैछु म पित्तलको बहाना, गुलाम त हैन म कसैको केबल छु भुलेको आफ्नो बिगतको ठेगाना।
मृत्यु शय्या
कुर्दा कुर्दै हरायो मेरो अस्तित्व, कहिले जीवनको दौडमा, कहिले भीडको माझमा, भने कहिले चाहनाको आशमा। र, आज पनि कुर्दै नै छु म यहाँ, एउटा कात्रोको थाङ्ना, अस्पतालको मृत्यु शय्यामा, अनि त्यसलाई पहिराइदिने हात।
उध्रेको मन
सिलाउँदै थिए एक्लै, उध्रेको यो मेरो मन, धागो थियो उनैको हातमा, मेरो धमिलिएको यो दृष्टि, चुँडियो त्यो धागोको लर्को, अनि छरपष्ट भयो अन्तर्मन, सडक छेउको ढल जस्तै बगेर, दर्शकको भीडमा नबुझ्ने धेरै , तर बुझ पचाउने भने आत्मीय, वास्तविकता कहुँ छ सपनाझैं, मेरो जीवनको यो सारांश, न त आँखामा सम्हाल्न सकिन्छ, न त यो पापी मनमा सजाउन नै।
ऐना
ऐनामा देखेको हाम्रो युगल आकृति, त्यसलाई हेरी गरेको भविष्यको कल्पना, सँगै गरेका केही जुनिजुनिभरीका अठोट, अनि साथै खाएका ति अनगिन्ती बाचाहरु, जुधाई आँखा घण्टौं बसि एकअर्कालाई हेरी, तिमी मुसुक्क मुस्काइ भावना झल्काएको क्षण, यता भवनाहिन तिम्रो मायाको कर बढ्दै गयो, उता भने विश्वासको प्रेमाबिहिन ऋण थपिँदै, सोच्छु आज कसरी घाम पश्चिमबाट उदायो, के कमी थियो र हाम्रो माया खोलामा सेलायो, वियोगान्त भई कल्पनामा डुब्दै अझै पनि, झल्किन्छ भावना तिम्रोलागि यहीँ आज पनि, हेर्छु तिमीलाई अर्काको अंगालोमा, सम्झन्छु ति विगतका हाम्रा क्षण, खलखली बगी मेरो मनको पसिना, तपकिन्छ अघि आँखाको बाटो हुँदै, सोधे कसैलाई दुखेको यो मन हो भन्छन, तर यो दुखेको हैन फुटेको मेरो भाग्यो हो।
झरी
दिनभरको झरी पछि केहि खुलेको आकाश हेर्दै, पारीजातको रुखमुनि सुख्खा खोजि एक रुमालमा बसेको दुई ज्यान, धेरै समयको सम्पर्कबिहिनता पछि पुन: पाएको आत्मीयता सॅंगाली, थोरै बोल्दै धेरै एक अर्काको अँगालोमा रमाउॅंदै विताएको सन्ध्या, केहि अतितका मुस्कान र भविष्यका चिन्ता बोकेका थकित काँध, डुव्दै गरेको त्यो घाम हेर्दै एकअर्काको हातमाथि हात राखी, उनको लाली लाएको ओठमा मेरो रुखो ओठ जोड्दै पाएको स्वर्गानुभुति, अनि लाजले गाला रातो पारी मेरो अँगालोमा डुबेको उनको लामो सास, सन्ध्याको समयमा आत्तिदै पर हटेर उनी मुसुक्क मुस्कुराईन, तर समय साक्षि राखी बिताएको क्षणले आफ्नो ऋण माग्यो, र उनको त्यहि मुस्कानले मलाई अब छाडेर जान आदेश प्रदान गर्यो।
गिरफ्तार रही यो जिन्दगीको
आज पनि कुहिरोको बीचमा हराएका ताराहरु, अनि उर्जाहिन स्वादको यो घामहिन श्वेत सूर्य, पश्चिममा उदाएदेखि पूर्वमा अस्ताएसम्म पछ्याई, निरर्थक हेर्दै बस्छु यो औँसीको रातमा अर्थहीन चन्द्र, अनि देख्दछु पुनः झलकिदै गरेका आफ्ना ती अतीत, प्रत्युच्चारित यो मनमा रहेका पुराना यादहरु झलकिदै, अनि सकिन्छ रात एकलास ठाउँमा गिरफ्तार रही यो जिन्दगीको।
कालो
रङ, रङ त कालोले नै मलाई दर्शाउथ्यो, त्यो मेरो उदेश्य बिनाको जीवन, त्यो औचित्य बिनाको चाहना, त्यो मरुभूमिको लामो रात, जहाँ चन्द्रमाको कुनै औचित्य हुदैन, र ताराहरु पनि टिल्मिलाउन अन्कनाउछन्। अनि मेरो त्यही जीवन जुन पहिले पुर्ण कालो थियो, कहिले काहीं पुर्ण सफेद भैदिन्थ्यो, कोहरा लागेको मिर्मिरे जस्तो, जहाँ आफुलाई त थाहा हुन्थ्यो म कहाँ छु भनेर, तर केही परको पनि आभास गर्न मुस्किल पर्थ्यो। तर, तर तिम्रो आगमनसंगै मैले खुला आकश, जुन आफ्नो साबिक स्थानमै थियो, त्यसको अस्तित्वको भान पाए, त्यो निश्चल अनि अनन्तसम्म फैलिएको सागर, त्यो बिज्ञानले नि पुर्ण दहन भनेको निलो ज्वाला, त्यो अक्सिजन नपाएर कलंकित भएको तन, र मुटुमा छेदन भै समय नपुग्दै जन्मिएको शिशु, यी सबैले केबल तिम्रो त्यो निलो नयनको प्रतीक दर्शाउछ, जुन मेरो मनको गहन कक्षमा पुर्णरुपमा कुदिएको छ। तथाकथितको पर्यायवाची बनेको मेरो जीवन, तिम्रो आगमनले तथागतको खादा पहिरियो, मेरो अस्तित्व जुन मैलिएर शुन्यमा बिलाप हुन पुगेको थियो, त्यसलाई तिमिले एक नयाँ जिवनदान प्रदान गर्यौ, मृत्युको टुप्पोमा पुगेको मेरो जीवनरेखालाई तिमिले पुछारमा पुर्यायौ, र, हाँसेर समय आएपछी मृत्युुलाई अङ्गाल्नु पर्छ भनेर सिकायौ, किनकी बाँच्ने पनि एउटा सिमा हुन्छ, र मृत्युभन्दा अगाडि केही हुन्न।
रंगीन श्यामश्वेत
जीवन रंगीन छ, जता त्यतै विभिन्न वर्णको, सबै जातलाई रंगको आधारमा छुट्याउँदै, त्यो साहसको प्रतीक जनाउने रातो, अनि निलो रङ शान्तिमय प्रेरणा जनाउँदै, सेतोलाई न्यूनतमता को पगरी पहनाई, भन्दछ कालोलाई तँ परिष्कारको भावना दर्सा, तर म हेर्छु जीवनलाई केबल दुई रंगमा, दुई रङको एक समिश्रण, जसमा केवल न्यूनतमता छ, र त्यसमा घेरिएको परिष्कार, अनि श्यामश्वेत मेरो जीवन।
अनन्त र निरन्तरमा
अनन्त र निरन्तरमा तिमी नझुक्क प्रिय, निरन्तर एक प्रक्रिया हो, चक्रको पद्मव्यूहमा बेरिएको भने अनन्त अन्त्यको समाप्ती, समयबिहिन अमरत्वको अपेक्षाहिन उपलब्धि, जहाँ साथले निरन्तरताको प्रतिक दर्साउछ भने, प्रेमले अनन्तको अनुभुती प्रदान गर्दछ।
मौन उत्तर
शान्त छ आकाश आज, निःशब्द हावाको सिरेटो, भौतारिएको मन आज, छट्पटीदैछ तन यहाँ, स्वयंसँग निधो माग्दै, विचलित यो मेरो मन, तर छन् त केबल यहाँ, छरपष्ट प्रश्न अनि तिम्रो मौन उत्तर।
के कुरा गर्नु?
त्यो सपनाको पनि के कुरा गर्नु, जुन निद्राको प्रतीक्षा गरिरहेको छ, त्यो भविष्यको पनि के कुरा गर्नु, जुन वर्तमानमा कहीं हराएको छ, म त अब भावनाको कुरा गर्छु यहाँ, जुन मनको कुनामा कतै दाबिएको छ, मेरा केही चाहेका अनगिन्ती रहरहरु, जुन दिलको गहिराइमा कतै भासिएको छ, ती देखेका मेरा केही साना सपनाहरु, जुन साथसँगै कतै हराएर गएको छ, अनि मेरा केही पूर्ण भएका चाहनाहरू, जुन विगतबाट मलाई चियाइ हासिरहेको छ, अब त केबल चाहना छ त्यो सेतो कपडाको, जसको थाङ्नाले सबैको प्यारो बनाउँछ, अनि दिन्छ अनगिन्ती समय एकान्तमा उभिने, र कात्रोमा बेरिएको आफ्नो प्रतिविम्व हेर्ने।
छरपस्ट
हेर भुइँमा छरपस्ट पोखियो, यि आँखाका पानी आज, भिजेका मेरा आँखा यहाँ, जुधेछन् तिम्रा नयनसॅंग, सम्झि त्यसलाई अश्रुका थोप्लो, छाड्यौ तिमीले सहानुभूतिको मन्द मुस्कान, रक्तबिहिन मेरो नसामा बगेको अस्तित्वहिन् तरल, सायद अत्यासको भावना या कल्पनाको टुक्रा होला, हरायौ भिड्को माझ तिमी अनि तिमीलाई पछ्याउॅंदै म, पाएँ आफुलाई नयाँ जगतमा बेरिएको तिम्रो अँगालोमा, जहाँ खुला आकाशबाट झरेको शब्दको झरी, अनि त्यसको भावनामा रुझेको मेरो मनको बोझ, हिजोसम्म दुनियांको अगाडि बेगारी म, आज यस संसारको सम्राट अनि छेउमा मेरी प्रियसी, आफ्नो नयाँ स्वप्नलोकमा प्रफुल्लित भई रमाउदै एकलास, झसङ्ग भै दिवास्वप्नबाट बिउझीए वास्तविकताको संसारमा, जहाँ मेरो उजाड यो जीवनमा खोज्दै छु आफ्नो अस्तित्व एक्लै, अझै झुन्डिएको छु यहीं एकाकी पर्खी केबल तिम्रो न्यानो स्पर्श, भौतारीए सारा दुनियाँ उनको खोजिमा चाहार्दै गल्ली र गोरेटाहरु, पुगे फेरी त्यहि बिसौनीमा अनि नेत्रभरी आँसु अनि उहि तिम्रो मुस्कान, भावनै भावनाको उदाङ्ग दुनियामा म अन्तरङ्ग रोज्दै रहे, तिमी मेरै अगाडि उभि रह्यौ म भने अनामिका खोज्दै रहे।
नेपथ्य
तिमी जिन्दगीमा प्रकाश भएर आयौ, तर म नेपथ्य पछाडिको छाया रहेछु, सारा संसारलाई तिमिले उज्यालो छरेउ, म भने पर्दा पछाडि हराएछु।
बुख्याचा
बुख्याचाको एक्लो अस्तित्व, घामको राप अनुयाउदै चन्द्रको शीतल, नियाल्दै जीवन अनि फैलाउदै प्रज्ञा, देख्दैछु अडिग नैतिकताको स्तम्भमा, जवानिको पसिनाले निथ्रुक्क जोडी, र उक्त दिन समझदै बुढ्यौलीको थकान, उहि पात्र, फरक समय अनि दृश्य अनेक, सबै प्रतियोगी यहाँ जीवनको खेल भने समयको।
आँशुको अंश
कोट्याई मानुसलाई सोध्छ ए दैव, चाहन्छस् के खुसी या आँशुको अंश? कहन्छ मलाई ए दानव आँशुको भार बोकाइदे यो काधमा, सुम्पिदे मेरो भागको खुसी पनि मेरी अनामिकालाई।
आज अञ्जन
त्यो चुरोट जस्तै जलिजाने, धुवाँ भर्दै उडाएको यो मन, कर्तव्यबाट टाढा भाग्दै म, यस दुनियाँमा आज अञ्जन, मेरो उजाड यो जीवनमा, खोज्दै आफ्नो अस्तित्व एक्लै, अझै झुन्डिएको छु यहीं एकाकी, पर्खी केबल तिम्रो न्यानो स्पर्श।
एकाकीपन
बिम्ब र प्रतिबिम्बको बिचमा झुन्डिएको यो आकृती, कल्पनाको सानो संसारमा रहेको त्यो एक क्षणिक पल, अनि सम्झनामा रहेका हाम्रा अतितका क्षणिक सम्झना, बिगतदेखि बर्तमानसम्मको यो नितान्त अनुग्रहपुर्ण यात्रा, जात हेर मेरो यो बदनसंगै आउने पसिना पनि सुकेर जाने, धर्म हेर मेरो यो भौतिक शरीर पनि अमर कहाँ छ र जन्मजात, कि त माटोमा मिल्छ कि खोलानालामा खरानीसरि बिलाउछ, के गर्छौ घमण्ड कर्म खोटो भए, भर्छ के जात धर्मले तिम्रो भाग्यको तो अपर्याप्त एकाकीपन?
यथार्थरुपि भ्रमहरु
पर्खाइमा बितेका ती अनगिन्ती पलहरु, अनि सम्झनामा भिजेका हजारौं सिरानी, आज पुराना भए मेरोसामु किनकी, पर्खाइले समयको महत्व सिकायो, र सम्झनाले विश्वासको सामथ्र्य, डोर्‍याइ मलाई टाढा आज सबैबाट, फर्कायो कल्पनाको बिरानो देहातबाट वास्तविकतामा, जहाँ समय न मेरो आफ्नो रहेछ न मेरो सापेक्ष, बस् आफ्ना रहेछन त केबल यी यथार्थरुपि भ्रमहरु।
अडिग
गुमाए महत्व पाउने रहेछ यो संसार किनकि आजको बेगारी यहाँ, मलाई जलाउने दाउरा पनि कतै निकम्मा रुखभई अडिग होला।
हराएको मन
यो एकान्त शिशिरको रात, माथि आकाशमा टहटह लागेको जुन, अनि बाहिर चलेको हावाको चिसो सिरेटो, तर भित्रभित्रै भने एक्लै भक्कानिएको यो मन, अनि परिस्थिति भने आफैलाई सम्हाल्नुपर्ने बाध्यता, यही रहेछ जीवनको पर्याय यो एक्लो रात अनि हराएको मन।
अन्तर्मन
तिमी हेर्छौ मलाई एकोहोरो टोलाएर, बुझे जस्तो गर्छौ मेरो अन्तर्मन, मेरो सबै भावना अनि मनका तरंगहरू, बन्दछ केही अनायासै पलहरु आँखा जुधेपछि, तिमी देखाउन चाहन्छौ केवल आफ्ना गुणहरू, अनि म लुकाउँछु नेपथ्यमा आफ्ना अवगुणहरु, चल्छ हावाको एउटा सानो लहर उडाउँदै त्यो गुणी पर्दा, अनि पुनः सुरु हुन्छ यही कथा फरक चारित्रिक पत्र साथ।
सपनाकी एक प्रियसी मायालु
अस्तित्व तिम्रो अझै गुमनाम छ, तर आगमन मेरो सपनामा दिनहुँ हुन्छ, अनि संसार कल्पनाको सिंगरिन्छ युगल, अनामिकाको पगरी पहनी तिमी, रमाउँछौ मेरो छातीमा समाई, क्षणिक स्वप्नमा सारा पिरदुःख खोसी, दिन्छौ मलाई एक अनौठो अनुभव सँगल्न, अविस्मरणीय झझल्को अनन्तसम्मलाई तर, विउँझि निदबाट हेर्छु वरिपरि मेरो सानो कोठामा, खाली क्यान्भास अनि एकाकीपनमा घेरिएको म, अतालिदै खोज्दछु तिमीलाई वरपर भेट्ने आशामा, अनि देख्दछु तिम्रो आकृति कोरिएको मेरै कुचीले, रंगमा डुबाइ पुनः चलाउँछु मेरो हात त्यही सफेद पर्दामा, अनि कोर्दछु मेरो सपनाकी एक प्रियसी मायालु।
फरक
तिमी कफन ओढ्छौ, म कात्रो, तिमी भगवान पूज्छौ, म जन्मजात काफिर। तिमी पुनर्जन्मको सोचमा पुण्य गर्छौं, म एकफेरि जीवन सम्झि पल पल बाँच्छु। तिमी पश्चातापको बोझ मनमा बोकि मर्छौं, म भने आफुलाई विश्व बिजेता सम्झी। फरक केबल यति छ, तिमी मृत्युको डरमा बाँच्छौ, म मृत्यु बिर्सेर बाँच्छु।
बिलुप्त
चाहना छ यहाँ देखिने भावना बिना, भुलिदो छ वाचा यहाँ अनि दोधारमा प्रतिज्ञा, बल्झिदो छ मनको घाउ किन आज पटक पटक, बिलुप्त यो भौतिक शरीर भयो मेरो मनको रजटपट।
चोट
सानोमा शरीरमा लागेको त्यो चोट, जिन्दगीभरी देखिने खत छाडी गयो, दुनियाँले देखे, अनि त्यो पीडा बुझेर महसुस गरे, तर आज ठूलो भएपछि लागेको चोट, त्यो शरीरको खतभन्दा बिशाल छ, तर फरक केबल यति छ, यो चोट त मनमा लागेको छ, न त कसैले देख्छ, न मर्म नै बुझ्छ।
बाँच्ने आधार
भावना त अझै पनि छ मनमा सङालेको, अनि सम्झना बनेको यहाँ बाँच्ने आधार, देख्दछु सपनामा आज पनि तिम्रो आकृती, र सम्झन खोज्छु त्यो अपरिचित अनुहार, जुन स्नेहिक अपवादको प्रतीक दर्शाउछ।
तिमी र, म
तिमी चाहना भन्छौ, म भावना, तिमी बिचार गर्छौ, म प्रेरणा लिन्छु, तिमी कल्पनामा जिउछौ, म बास्तबिकतामा, तिमी एक्लै रमाउछौ, म तिमिसङ युगल, सायद यहि रहेछ फरक, तिमी आफैंलाई स्थापित गर्छौ, र, म हाम्रो सम्बन्धको मौलिकता।
देख्दैछु म
आखाका अगाडि खेल्ने ती सपनाहरू आज हकिकत देख्दैछु म, क्रान्तिकोलागि उठ्ने ती हातहरु आज हलो उठाउन बाध्य देख्दैछु म, साथसाथै लडेका साथीहरू आज ७०ले बदनाम देख्दैछु म, त्यही दैनिकीको ७०ले परिवार पाल्ने कल्पना देख्दैछु म। परिवार र आफन्तसङ रम्नलाई थाइल्यान्ड र कम्बोडिया जाने मान्छे पनि देख्दैछु म, ६ दिन मज्दुरी गरेर सातौं दिन परिवारसङ झुपडीमा रमाउने ब्यक्ति पनि देख्दैछु म, सामान्य पखालाको औषधि नपुगेको क्षेत्रमा भासणको लहर फस्टाएको देख्दैछु म, बुढेसकालमा पनि बैँस लागेका जननिर्वाचित प्रतिनिधि आफ्नै देशमा देख्दैछु म। पुस्तक रट्नेलाई विद्वान र समाज पढ्नेलाई निकम्मा देख्दैछु म, बिध्याको पक्ष लिएर बोल्नेलाई यहाँ धनले सम्मान गरेको देख्दैछु म, ऐना देखाउनेलाई जेल र करोडौं कुम्ल्याउनेसङ आत्मीय मेल देख्दैछु म, भोजको मोजमा रमाइ अल्पसंख्यकलाई गरिने व्यवहार अमानवीय देख्दैछु म। बिलासको लालसामा आफ्नाले आफ्नैलाई बेचेको देख्दैछु म, केही पैसाकोलागि बर्षाैको सम्बन्ध तुहाएको देख्दैछु म, मुखमा रामराम बगलीमा छुरा त कैयौं पटक सुनेको थिए प्रिय, पि.आर. र पैसामा बिक्ने प्रेम पहिलो पटक देख्दैछु म। गफ हान्नेहरु आज बिकासमा लागेको देख्दैछु म, बिकास गर्नेहरु गफमा जनता भुलाएको देख्दैछु म, देशको लागि जोश भएकाहरु जुत्ता खिएका देख्दैछु म, पैसाको मोह भएकाहरु ठुला पदमा रमाएको देख्दैछु म। अनगिन्ती सपना भएकाहरु अनाथआश्रममा देख्दैछु म, पूरा नभएका सपनाहरु वृद्धाश्रममा देख्दैछु म, भण्डारी र आश्रतिका सपनाहरू तुहिसकेको देख्दैछु म, नया मुहारहरुको सपना सुरुहुँदै कुहिएको देख्दैछु म। अल्पसंख्यकको नाममा आएको पैसामा पारिवारिक भ्रमणमा बिदेश घुमेको देख्दैछु म, बृद्धभत्ताको उमेरमा मन्त्री निवासमा पस्ने वातावरण देख्दैछु म, काबिल नेतालाई थाती राखी मृतकका बिध्वालाई पदमा स्थापित गरेको देख्दैछु म, शासन र प्रशासनको खेलबाट आज राजनीति दया र करुणाको खेल भएको देख्दैछु म। पैसाको खेलमा पिरोलिएर ५० बसन्त पार गरेका युबा नेता देख्दैछु म, आफ्नो सम्पुर्ण परिवारलाई ठूलो पदमा स्थापित गराई आफ्नो गोजि भर्ने पनि देख्दैछु म, नयाँ नेपालले देखाएको सपना वास्तविकतामा तुहिएको देख्दैछु म, नभन मलाई कम्जोर ए दुनिया, पैसामा नबिक्ने इमानदारीता गरिबीमै देख्दैछु म। १४ बर्षे जनयुद्धको नाफा भन्दा नुकसान देख्दैछु म, राजा हटेको कैयौं बर्ष पछि पनि सवारीको पीडा देख्दैछु म, अभागी यो देशमा मानिस कि त ऋणमा दाबिएको कि त खाडी भासिएको देख्दैछु म, त्यही खाडिको रेमिट्यान्सले आज राजनीतिज्ञहरु बिलासितमा रमाएको देख्दैछु म। एअरपोर्टमा समातिएको सुन चौकी पुग्दापुग्दै पित्तल भएको देख्दैछु म, कर तिर्ने जनतालाई घाम र भ्रष्ट नेतालाई सित्तल भएको देख्दैछु म, जनताले हातेमालो गरेर आज बालबिबाह रोकिएको देख्दैछु म, फुटेर हैन जुटेर बनाए देश बन्ने रहेछ, आज त्यो देख्दैछु म। हाउगुजी र मु पछिको जिले देशलाई केही रहत पुर्याएको देख्दैछु म, कपिलवस्तु भारतमा र सगरमाथा चिनमा बिलाएको देख्दैछु म, संविधान न पाउँदा उफ्रिएका जनता सम्बिधान नबुझेसी झोक्राएको देख्दैछु म, क र ज्ञ नबुझ्ने सांसद भए चल्ने देशमा पुस्तकमा कर थपिएको देख्दैछु म। बलात्कारको आरोप लगाएको सङ आज बाउको नाता लगाएको देख्दैछु म, राजनितिको पापी खेलमा आफ्नो आत्मसम्मान निलाम भएको देख्दैछु म, नितिको अर्थ थाहा नहुनेहरु महलमा बसि महङ्गो व्हिस्कीमा माती बिधान लेखेको देख्दैछु म, अनपढहरुले चलाउने यो देशमा बिध्वानहरु पछाडी बसि थपडी मारेको देख्दैछु म।
अश्लील युद्ध
नांगो तरबार लिएर आयो, आफ्नो राज्यको भविष्य कोर्न, नयाँ जवनी र आँखामा सपना सॅंगाली, अश्लील युद्धको एक किशोर योद्धा।
पर्खी बस कुरेर
अलिकति आँट बोकेर, जोवनको मात पोखेर, थोरै डर अनि साथीसँगीको कर, आफ्नो मन पोखेर लतपताएको कागज, अनि भावनाको अक्षरमा सँगलिएको प्रेम, ती वर्षौंदेखिका लेखेर थन्किएका पत्र नियाली, आज नयाँ खाम किनेको छु, ती पुराना भावना प्रस्ट्याउन, मेरो मनको गुनासो तिमीलाई सुनाउन, आउँदैछु मायाको प्रस्ताव बोकेर प्रिय, पर्खी बस कुरेर।
प्रणयको दिवस
भिडको माझ पनि एकालास ठाउँमा पुर्याईदियो, तिम्रो मोहब्बतले दुनियालाई झुठो ठहराउन सिकाईदियो, अब न त कुनै गमको आभास हुन्छ न त खुशीको, कम्बक्ख्त जिन्दगिले चुप-चाप रहन सिकाईदियो।
आऊ
आऊ, केही पर हामी भेटौं, यो जिन्दगीको दौडधूप भन्दा केही टाढा, जहाँको हावामा स्वच्छता छ, यो दिनभरको कोलाहल भन्दा निकै नै पर, जहाँ तिम्रा गुनासाहरु यी कानसम्म आइपुग्दा धमीलिन्दैन, यो मध्यघामको तेजिलो राप भन्दा कोसौं टाढा, जहाँ तिम्रो काखको सिरानी अनि सितल छहारीको ओत छ, यो देखावटी संसारको मोहमायाभन्दा धेरै दूर, जहाँ तिम्रो सुन्दरता रुपमा हैन चरित्रमा हेरिन्छ, यो कारखानाको दैनिक ज्यालाभन्दा पर, जहाँ तिमीलाई तिम्रो जन्मले हैन कर्मले दाजिन्छ, यो वर्गवादको सिद्धान्तभन्दा बिल्कुलै टाढाको संसारमा, जहाँ हाम्रो प्रेमलाई प्रतिष्ठामा हैन गहिराइमा नापिन्छ, आऊ, त्यो एकालास ठाउँमा केही पर हामी भेटौं।
अचम्म
अचम्म रहेछ यो माया भन्ने कुरा पनि, दुईतर्फि भए संसारको रीत, एकतर्फी मात्र भए अदालतको रिट।
चिसोपन
हाम्रो सम्बन्धमा चिसोपन भएर होला, आज उनको बन्द आँखामा पनि आफ्नो संसार देख्छु, उनको रुखो अधरमा आफ्नो नामको लाली पढ्छु, रेशमी तर जिङ्गृङ परेको उनको केशमा आफ्नो हात पाउँछु, उनको संगमरमर वदनमा लाएको सेतो बस्त्रमा क्षितिज खोज्छु, र शृङार हराएको उनको देहमा सुन्दर्ताको पुन: स्थापित चाहन्छु, तर अफ्सोस्, आज हामी सँगै भए पनि मौनाता र एकान्त मात्र महसुस गर्छु, र उनको जलिरहेको चितामा ढलेर म आफ्नो मधुमास पाउँछु।
निर्दयी
अबोध छन ती आँखाहरु, बाटो छेउको अनाथजस्तै, निर्दयी त रहेछ यो मन, किनाराको ढुङ्गाजस्तै।
शून्य संध्या
शून्य संध्या, व्यस्त रात, एक्लो मन, मौनताको साथ।
bishab@domain:~/poetry$ _
[ EXIT_VIEW ]

s